नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको छ।
महासंघको डिजिटल मिडिया विभागको सोमबार बसेको बैठकले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अवरुद्ध भएको भन्दै असन्तुष्टि जनाएको छ। विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार ११ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाइने र १३ भदौदेखि सूचना तथा प्रसारण विभागमा कालो व्यानर राखेर धर्ना सुरु गर्ने निर्णय भएको छ।
सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधन गरेपछि साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरण रोकिएको हो। महासंघले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने कदमका रूपमा व्याख्या गरेको छ।
दर्ता–नवीकरण रोकिँदा पत्रकारहरूको प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणमा समस्या देखिएको छ भने चाडपर्वको मुखमा विज्ञापन कारोबारमा समेत असहजता भएको महासंघको भनाइ छ।
बैठकमा महासंघकी अध्यक्ष निर्मला शर्माले तत्काल दर्ता–नवीकरण सुचारु गर्न माग गरिन्। उपाध्यक्ष उमिदप्रसाद बागचन्दले कानुनी प्रावधानमार्फत प्रेस स्वतन्त्रतामा नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए। महासचिव रामप्रसाद दाहालले अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरण रोकिनु असंवैधानिक भएको भन्दै माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी दिए।