काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि हरेक नेपालीको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा बोल्दै उनले उद्यमशील युवालाई देशको भविष्यको मुख्य आधारका रूपमा व्याख्या गरे ।
प्रधानमन्त्री ओलीले भने, “हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौं । त्यसपछि पूर्ण रूपले विकसित राष्ट्रमा पुग्नेछौं। हाम्रो देश अरुले आएर बनाइदिँदैन। हामी आफैंले बनाउने हो ।”
उनले प्रविधिको अधिकतम उपयोग, उत्पादन वृद्धिमा जोड, र नवप्रवर्तनशील सोचमार्फत आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्ने बताए। प्रधानमन्त्रीले उद्यमीहरूलाई हिम्मत नहार्न र भविष्यप्रति आशावादी रहन प्रेरणा दिँदै भने, “हामी सबै लागेमा, वि क्यान डु... नेपाल बन्छ ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी उद्यमीहरूका उत्पादन तथा स्टार्टअप स्टलहरूको अवलोकनसमेत गरेका थिए ।