काठमाडौं । मधेश प्रदेशमा मध्य साउनसम्म जम्मा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रूपमा चिनिने मधेशमा मनसुनकै समयमा परेको खडेरीका कारण रोपाइँमा भारी असर परेको छ ।
गत वर्षको यही अवधिसम्म ९५ प्रतिशत रोपाइँ भइसकेको थियो । तर यस वर्ष समयमा पानी नपरेकाले कृषकले रोपाइँ गर्न सकेका छैनन् । पछिल्ला केही दिनयता केहि स्थानमा पानी परे पनि बीउ बुढो भइसकेकाले अब हुने रोपाइँले उत्पादन वृद्धि गर्न नसक्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धान कार्यक्रम संयोजक डा. मथुरा यादवले बताएका छन् ।
उनका अनुसार धान उत्पादनमा करिब २५ प्रतिशत गिरावट आउनसक्छ । उनले धान तथा चामलको मूल्यवृद्धि हुने, खाद्य सुरक्षामा असर पर्ने र कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत नकारात्मक प्रभाव पर्ने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले असार २६ गतेदेखि मधेशका सबै आठवटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा कृषि क्षेत्रको जीडीपी योगदान २४.१ प्रतिशत रहेको छ भने धानको मात्र योगदान झण्डै ५ प्रतिशत रहेको छ ।
गत वर्ष नेपालमा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएकोमा मधेश प्रदेशबाट मात्रै १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो । जुन सातै प्रदेशमध्ये सबैभन्दा बढी हो । सो वर्ष मधेशमा ३ लाख ७४ हजार ११७ हेक्टर जमिनमा धानखेती गरिएको थियो ।
प्रदेशअनुसार धान रोपाइँको अवस्था
| प्रदेश | हालको रोपाइँ (%) | गत वर्षको (%) | खेतीयोग्य जमिन (हे.) |
|---|---|---|---|
| मधेश | ५७.२८ | ९५ | ३,७४,११७ |
| कोशी | ८९.०३ | ९५ | २,७६,३८७ |
| बागमती | ९२.९२ | ९७ | १,१५,६२१ |
| गण्डकी | ८८.९७ | ९६ | ९४,१८२ |
| लुम्बिनी | ९५.९६ | ९७ | ३,०२,८८९ |
| कर्णाली | ९६.४७ | ९९ | ४०,८८४ |
| सुदूरपश्चिम | ९९.७२ | १०० | १,७६,१५१ |