वीरगञ्जमा कैदीको उपचारका क्रममा मृत्यु, टायर बालेर प्रदर्शन

hitkhabar.com


पर्सा । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल अगाडि मृतकका आफन्तले प्रदर्शन गरेका छन्।

२०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलका ३५ वर्षीय राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।

कारागार प्रशासनका अनुसार मङ्गलवार बिहान व्यायाम गर्ने क्रममा तुराहाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। नारायणी अस्पतालका सूचना अधिकारी डा। उदय नारायण सिंहका अनुसार बिहान ८ः५० बजे भर्ना गरिएका तुराहाको उपचारको क्रममा बिहान १०ः३० बजे मृत्यु भएको हो।

अस्पताल प्रशासनले सम्भव भएसम्मको उपचार गरिएको दाबी गरे पनि मृतकका आफन्तले लापरवाही र समयमा उचित उपचार नपाएकै कारण ज्यान गएको आरोप लगाएका छन्।

घटनापछि आफन्तहरूले अस्पताल अगाडि टायर बालेर विरोध गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

हाल अवस्था सामान्य रहेको र मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया