प्रतिनिधिसभा बैठकभित्र अब फोटो खिच्नदेखि अडियो–भिडियो रेकर्ड गर्नसम्म नपाइने

hitkhabar.com


काठमाडौं । नयाँ बन्न लागेको प्रतिनिधिसभा नियमावलीको मस्यौदामा बैठककक्षभित्र फोटो तथा भिडियो खिच्न नपाइने प्रावधान राखिएको छ ।

समितिले मंगलबार सभामुखसमक्ष बुझाएको प्रतिवेदनअनुसार नियम २० मा बैठक सञ्चालनका क्रममा पालना गर्नुपर्ने आचारसंहिता उल्लेख गरिएको छ । सो नियमको उपनियम ‘ट’ मा बैठककक्षभित्र मोबाइल फोन प्रयोग सम्बन्धी कडा व्यवस्था प्रस्ताव गरिएको छ ।

जसअनुसार बैठकको समयमा मोबाइल फोन साइलेन्ट (मौन) मोडमा राख्नुपर्ने, फोनमा कुरा गर्न नपाइने, साथै फोटो खिच्ने, अडियो तथा भिडियो रेकर्ड गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

यसअघि २०७९ सालको नियमावलीमा बैठककक्षभित्र फोटो, अडियो वा भिडियो रेकर्ड गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको थिएन । तर फोन प्रयोगका विषयमा भने फोन साइलेन्टमा राख्ने र फोनमा कुरा नगर्ने नियम रहेको थियो ।

नियमावली समितिले तयार पारेको उक्त मस्यौदा प्रतिनिधिसभाबाट पारित भएपछि मात्र औपचारिक रूपमा लागू हुने बताइएको छ।


प्रतिक्रिया