काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसप्रति जनताको अविश्वास बढ्नुको प्रमुख कारण नेतृत्व पुस्तान्तरण नहुनु भएको बताएका छन् ।
बिहीबार परिवर्तन अभियान नेपालको दोस्रो वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले लामो समयदेखि एउटै प्रकृतिको नेतृत्व रहँदा आम जनतामा निराशा बढेको टिप्पणी गरे ।
उनले भने, “हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रक्रियामा परिणाममुखी ढङ्गले अघि बढ्न सकिएको छैन । लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहँदा जनतामा अविश्वास पैदा भएको हो जस्तो मलाई लाग्छ ।”
मन्त्री पौडेलले पार्टीभित्र पुस्तान्तरणको प्रक्रिया अघि बढाउन युवा पुस्ताले नीतिगत स्तरबाट हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।
“अब प्रक्रिया भन्दा फरक ढङ्गबाट नेतृत्व चयनको अवस्था छैन,” उनले भने, “हामीले नीतिगत पक्षबाट हस्तक्षेप गर्न नसकेका हौं कि, त्यसबाट विकल्प प्रस्तुत गर्न नसकेका हौं कि, जनताको विश्वास जित्न नसकेका हौं कि भन्ने प्रश्न गम्भीर हो । त्यसतर्फ ध्यान दिन जरुरी छ ।”
उनले पार्टीमा परिवर्तनको अभियान चलाउनेहरुको भूमिकालाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।