बिपी राजमार्ग आजदेखि २४ घण्टा सञ्चालन

hitkhabar.com


काभ्रेपलाञ्चोक । वर्षातका कारण क्षतिग्रस्त भएको बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी खण्ड आजदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ।

आसन्न दशैं–तिहारलगायतका चाडपर्वमा यात्रुलाई सहजता दिलाउन सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले राति सवारी सञ्चालनमा लगाइएको रोक हटाउने निर्णय गरेको हो।

यसअघि भदौ मसान्तसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। सामान्य वर्षातमै पहिरो खस्ने जोखिम भएकाले यात्रुको सुरक्षालाई ध्यान दिँदै सो निर्णय गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा भनिएको छ, “आसन्न चाडपर्वमा यात्रुको सहज यात्राका लागि सडक २४ घण्टा सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैले सडक सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ।”

प्रशासनले यात्रुलाई सम्भावित जोखिमबारे सचेत रहन आग्रह गर्दै सडक सुरक्षामा अनुगमन कडाइ गर्ने जनाएको छ।


प्रतिक्रिया