कैलाली कारागारमा कैदी झडप : गृहमन्त्रीको संलग्नतामा सुरक्षा व्यवस्था कडा, थप अप्रिय घटना रोक्ने तयारी

hitkhabar.com


काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा शुक्रबार राति कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटना भएपछि गृहमन्त्री रमेश लेखकको संलग्नतामा शनिबार उच्चस्तरीय बैठक बसेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गृहमन्त्री लेखकले गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुखसँग घटनाको अवस्थाबारे जानकारी लिएर परिस्थिती सहज बनाउन छलफल गरेका हुन् । बैठकमा गम्भीर घाइते एक जनालाई सेती प्रादेशिक अस्पतालबाट थप उपचारका लागि काठमाडौं ल्याउने निर्णय भएको छ। यसका लागि सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

काफ्लेले भने, ‘कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्ने छन् । घाइते सबैको उपचारको व्यवस्था मिलाइएको छ ।’ बैठकमा कारागारको आन्तरिक सुरक्षा प्रणाली सुदृढ पार्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया