रौतहट । रौतहटको गरुडा नगरपालिकाले कृषकको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषिजन्य सामग्री वितरण गरेको छ ।
नगरपालिकाको पशु डेरी यान्त्रिकरण तथा भैंसी–बाख्रा वितरण कार्यक्रमअन्तर्गत वडा नम्बर ५ का कृषकलाई पम्पसेट, मोटर, चिसिङ भ्याट, मिल्क्यान लगायत सामग्री वितरण गरिएको वडाअध्यक्ष रामबिनोद जैसवालले जानकारी दिए । उनका अनुसार २४ थान पम्पसेट, १४ थान विद्युत मोटर, २ थान भैंसी, २ थान दूध चिसिङ भ्याट, १० थान दूध संकलन क्यान वितरण गरिएको हो ।
कार्यक्रम मुक्तिनाथ ट्रेडिङ लिमिटेड, मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेड र गरुडा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।
नगर प्रमुख कन्थमनी प्रसाद जैसवालका अनुसार कृषि, शिक्षा, स्वास्थ्य र खानेपानीलाई पालिकाले उच्च प्राथमिकता दिएको छ । “कृषकको आम्दानी बढाउन र उत्पादनमा गुणस्तर कायम गर्न यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्,” उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले प्राप्त सामग्रीको सदुपयोग गर्दै उत्पादन वृद्धि गर्न कृषकलाई आग्रह गरे । “आपूर्ति प्रक्रियामा पारदर्शिता अपनाएर गुणस्तरीय सेवा दिन खोजिएको छ,” उनले स्पष्ट पारे ।
पालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट अन्तर्गत सञ्चालन गरेको यस कार्यक्रमअन्तर्गत कुल १४० भैंसी, ५७ मोटर, ५४ पम्पसेट, २० मिल्क्यान, १ हजार र २ हजार लिटर क्षमताका चिलिंग भ्याट, ८०० लिटर क्षमताका डिफ्रिज, मिल्क पम्प, मिल सेपरेटर लगायत सामग्री वितरण गर्ने योजना रहेको बताइएको छ ।
गरुडा नगरपालिकाको उक्त प्रयासले कृषि तथा पशुपालन क्षेत्रमा आधुनिक प्रविधिको पहुँच बढाउनुका साथै कृषकको आर्थिक सुधारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।