काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरुले आज परम्परागत नाग पञ्चमी पर्व श्रद्धा, भक्ति र धार्मिक विश्वासका साथ मनाउँदै छन्। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नाग देवताको पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।
पर्वका अवसरमा घरका मूलढोकामा गाईको गोबर, दूबोको साथमा नागको चित्र टाँस्ने चलन छ। जनविश्वासअनुसार यसरी टाँसिएको नागको चित्रले वर्षभर घरपरिवारको रक्षा गर्ने विश्वास गरिन्छ।
नाग देवताको पूजा गर्नका लागि दूध, मिठाई, फूल तथा भुटेको धान (लावा) चढाइन्छ। सर्पको प्रत्यक्ष उपस्थितिमा पूजा गर्न जोखिमपूर्ण हुने भएकाले आजको दिन नागको मूर्ति, चित्र वा काठका प्रतीकमार्फत पूजा गरिन्छ।
पर्वकै दिन ब्राह्मण पुरोहितहरू आफ्ना जजमानको घरमा गई गाईको गोबर, दूबो सहित नागको चित्र टाँसी पूजा गराउने गर्दछन्।
धार्मिक मान्यताअनुसार नाग पञ्चमीको ऐतिहासिक पृष्ठभूमि महाभारत कालसँग जोडिएको पाइन्छ। यस दिन नागहरूको सम्मान गर्दै पूजाआजा गर्दा समृद्धि, शान्ति र सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।