काठमाडौं । वीरगञ्जमा हैजाको सङ्क्रमण तीव्र रुपमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार रातिसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
झाडापखालाका कारण वीरगञ्जका विभिन्न अस्पतालमा हालसम्म ४२२ जना बिरामी भर्ना भएका छन् । तीमध्ये २ सय २३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकीको उपचार जारी छ ।
महानगरपालिकाले दूषित खानेपानी नै हैजा फैलिनुको मुख्य कारण भएको अनुमान गर्दै पानीको नमुना संकलन गरी परीक्षण गरिरहेको जनाएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १० नमुनामध्ये ८ वटामा हैजा पुष्टि भएको छ भने २ वटाको रिपोर्ट आउन बाँकी छ ।
सङ्क्रमण बढ्न थालेपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।
यसैबीच, महानगरले सरसफाइ अभियानलाई तीव्रता दिएको छ । चिकित्सकहरूले सुरक्षित पानी उमालेर मात्रै पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।