काठमाडौं। नेपालमा हाल पश्चिमी वायुका साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले आज देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो मधेश र कोशी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
सम्भावित वर्षा, हिमपात, चट्याङ तथा बिहानको हुस्सु–कुहिरोलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।