जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

hitkhabar.com



राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनमा यादवले निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।

राजविराजमा भएको अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि जम्मा ५०४ मत खसेको थियो । त्यसमध्ये केदारले २३५ मत प्राप्त गरेका थिए । यसअघि पनि यादव पार्टीको सप्तरी जिल्ला अध्यक्ष पदमा रहेका थिए ।

त्यसैगरी, उपाध्यक्षमा लक्ष्मण यादव ९ मतको झिनो अन्तरले विजयी भएका छन् । उनले हरेराम यादवलाई पछि पारेका हुन् ।

सचिव पदमा निरज मुक्ति मात्र १ मतको अन्तरले निर्वाचित भएका छन् । उपसचिवमा रिता चौधरी र रामेश्वर यादव, तथा कोषाध्यक्षमा अमरेन्द्र यादव विजयी भएका छन् ।

श्रावण १४ गते जसपा नेपालका संघीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका अधिवेशनले मंगलबार बिहान पदाधिकारी चयन गरेको हो ।

जिल्ला कार्यसमिति सदस्यहरुको निर्वाचन सम्पन्न भइसकेको छ भने उनीहरूको मतगणना आज दिउँसोदेखि सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया