सरकार ढाल्ने सोच छैन, तर जनताले विकल्प खोज्न थाले : नेता शाही

hitkhabar.com


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले आफूहरु वर्तमान सरकार ढाल्ने सोचमा नरहेको बताएका छन् ।आज रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशको स्थिरताको लागि माओवादीले सरकार ढाल्ने कुनै पनि सोच नबनाएको बताएका हुन् । उनले कांग्रेस–एमाले मिलेर सरकार बनेपछि  जनताले गरेको अपेक्षा भने पूरा नभएको उनको भनाइ छ । जनताले खोजेको विकासको तीब्रता, आर्थिक समृद्धि, सामाजिक न्याय,  सुशासन जनताको अपेक्षा भए पनि अहिलेको वर्तमान सरकारले दिन नसकेको उनले बताए । 

‘यो सरकार ढाल्ने सोचमा, ढाल्ने नियतमा माओवादी पार्टी छैन । हामीले त यो देशको अस्थिरतालाई अन्त्य गर्नुपर्छ, नेपालका ठूला राजनीतिक दलहरु एमाले र कांग्रेस एक ठाउँमा आइसकेपछि अस्थिरत होइन, स्थिर सरकार होस् । यो सरकारले राम्रो काम गरोस्,’– उनले भने । 

साथै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जनताको हितको लागि नबनेको उनको दाबी छ । यो सरकार सीमित हुनेखाने मान्छेहरुको पक्षमा, दलालहरुको पक्षमा र हितमा बनेको उनले बताए । सरकारले ल्याएका विभिन्न प्रकारका अध्ययादेशहरु, बजेट, नीति तथा कार्यक्रम सबै उक्त कुराको पुष्टि गर्ने नेता शाहीको दाबी छ । जतनता यो सरकारबाट अब हामीले चाहेको अपेक्षा पूरा गर्न सक्दैन, जति लामो समय यो सरकार टिक्यो, त्यति धेरै क्षति हुन्छ भन्ने निष्कर्षमा पुगिसकेको उनले बताए । जनताले यो सरकारको विकल्प तुरुन्तै खोजिरहेको उनको दाबी छ । 

उनले नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न नसकिने बताए । अहिलेको राजनीतिमा असम्भव भन्ने कुरा केही पनि नरहेको उनको भनाइ छ । ‘नेपाली राजनीतिमा असम्भव भन्ने कुरा केही पनि छैन । शेखर के अहिले प्रधानमन्त्री हुन्छन् त भन्ने प्रश्न उठाउनुभयो । म भन्छु असम्भव भन्ने कुरा केही पनि छैन । अर्को कुनै पनि पात्र हुनसक्छ । त्यसको मुख्य कारण चाहिँ भनेको नेपालको राजनीतिका अस्थिरता हो । अस्थिरत राजनीतिको परिणाम के आउँछ भनेर अहिले हामीले भन्नै सकिँदैन । नसुत्नुभन्दा अगाडिको स्थिति एउटा हुन्छ भने भोलि विहानको स्थिति अर्को भइसकेको हुन्छ,’– उनले भने । 

अहिले सत्ता समीकरण परिवर्तनको पक्षमा निकै चलखेल भइरहेको पनि उनले स्वीकार गरे ।  राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु  सरकारको विरुद्धमा चलखेलमा रहेको उनको दाबी छ । ‘निकै चलखेलहरु छन् । अन्तर्राष्ट्रिय शक्ति केन्द्रको पनि चलखेल छ । नेपालका राजनीतिक दलहरुको पनि आ–आफ्ना विभिन्न प्रकारका स्वार्थमा केन्द्रीत छन् । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर हिँड्ने राजनीतिक नेता कार्यकर्ताहरु छन् । कहाँ जाँदा आफ्नो स्वार्थ परिपूर्ति हुन्छ, के गर्दा आफ्नो स्वार्थ परिपूर्ति हुन्छ भन्ने, स्वार्थकै लागि भौतारिएर हिँड्ने हुँदाखेरीमा यही हुन्छ भनेर भन्न सकिँदैन । अहिले आम जनताले पनि राजनीतिक दलमाथि प्रश्न गरिराखेका छन्, इमानदारिता छैन । अहिले राजनीतिक दलप्रतिको विश्वास गुमिसकेको छ,’– उनले भने । 

नेता शाहीले फरक प्रसंगमा उनले एमालेको नेतृत्वमा केपी शर्मा ओली रहेसम्म वाम एकता सम्भव नरहेको बताए । उनले भने, ‘एमाले भित्रको पनि केपी शर्मा ओलीप्रति विश्वास गर्न सकिँदैन, विश्वासघाती मान्छे हुन् । अब यीसँग कुनै पनि हालतमा पार्टी एकता सम्भव छैन । यिनको नेतृत्वमा नेकपा (एमाले) रहिरहन्छ जबसम्म त्यहाँसँग यिनीसँग एकता असम्भव कुरा हो भनेर हामीले भनिसकेका छौं ।’ 

साथै, उनले आफूहरुले अहिले नेपाली कांग्रेसलाई एमाले गठबन्धन छाडेर आउनुस् नभनेको उनले बताए । तर, अप्ठ्यारो छ भने साथ दिन्छौं चाहिँ भन्दै आएको उनले बताए । ‘कांग्रेसलाई अहिले गठबन्धन टुटाएर आउनुस् भनेका छैनौं । हामीले  भनेको के भन्दाखेरीमा यदि तपाईँलाई अप्ठ्यारो छ, हाम्रो सहयोग चाहिन्छ भने दिन्छौं,’– उनले भने । 


प्रतिक्रिया