कात्तिक २२ गते विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री सोनल

hitkhabar.com


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते (शनिबार) विश्वासको मत लिने तयारी गरेका छन्। हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकले यही मितिमा विश्वासको मत लिने निर्णय गरेको हो।

विश्वासको मत लिएको भोलिपल्ट मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ। मन्त्रालयहरूको संख्यागत टुंगो भइसके पनि मन्त्रालयको नाम र भागबण्डाको अन्तिम सहमति भने बाँकी रहेको स्रोतले जनाएको छ।

गठबन्धनभित्रको सहमतिअनुसार जसपा नेपालले भौतिक विकास मन्त्रालयसहित चार मन्त्रालय र जनमत पार्टीले अर्थ मन्त्रालयसहित तीन मन्त्रालय पाउने पक्का देखिएको छ। यस्तै माओवादी केन्द्रले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयसहित दुई मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) ले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाउने चर्चा छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई पनि एक मन्त्रालय दिने सहमति भएको बताइएको छ।

मधेश प्रदेश सभामा कुल १०७ जना सदस्य रहेका छन्। मुख्यमन्त्री सोनलले सरकार गठनका लागि ५७ जना सभासदको समर्थनसहित दाबी पेश गरेका थिए। सरकार गठनका लागि ५४ सदस्यको समर्थन आवश्यक हुन्छ।

तर, जनमत पार्टीका विभाजित सांसद सिंह र साहले विश्वासको मत नदिने संकेत गरेका कारण मुख्यमन्त्री सोनलले साना दल र स्वतन्त्र सांसदहरूसँग पनि निरन्तर छलफल तीव्र पारेका छन्। सोनल नेतृत्वको सातदलीय गठबन्धनलाई विश्वासको मत सहजै प्राप्त हुने गठबन्धन स्रोतको दाबी छ।

प्रतिक्रिया