केन्द्रीय कारागारमा शिक्षालय : कैदी विद्यार्थी, कैदी नै शिक्षक

hitkhabar.com


काठमाडौं  ।  झट्ट हेर्दा धेरैले कारागारलाई अपराधीलाई सजाय दिने ठाउँ भनेर बुझ्छन् । कारागार सजाय दिने ठाउँ मात्र नभएर कैदीबन्दीका लागि सुधार गृह, सीप सिकाउने र शिक्षा दिने थलो पनि हो । काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागारभित्र मात्र तीन वटा विद्यालय छन् भन्दा धेरैलाई आश्चार्य लाग्न सक्छ ।  

केन्द्रीय कारागारभित्र जगन्नाथ माध्यमिक विद्यालय, बन्दी विकास आधारभूत विद्यालय र महिला बन्दी विकास आधारभूत गरी तीनवटा विद्यालय सञ्चालनमा छन् । जहाँ १८ वर्षदेखि ९० वर्षसम्मका कैदीहरूले अध्ययन गरिरहेका छन् । उनीहरू विद्यालयमा भर्ना मात्र भएका छैनन्, कक्षामा नियमित उपस्थित पनि हुन्छन् । केही कैदीबन्दी स्वयं शिक्षकका रूपमा अध्यापन पनि गरिरहेका छन् । पढाइसँगै कैद भुक्तान गरेर थप शिक्षा हासिल गरेका, स्वरोजगार भएर समाजमा पुनःस्थापित हुनेको संख्या पनि ठुलै छ । 

विभिन्न अपराधिक क्रियाकलाप गरेर कैद भुक्तान गर्न आएका कैदीहरूले अध्यनन गरिरहेको सुन्धारास्थित केन्द्रीय कारागारले जनाएको छ । कैदीबन्दीले विद्यालयमा अध्ययन गर्न कुनै किसिमको शुल्क तिर्नुपर्दैन । तर कापीकिताबदेखि स्टेसनरी, खाजालगायत व्यवस्थापन गर्न भने उनीहरूलाई समस्या छ । 

एक जना कैदीले जगन्नाथ माध्यमिक विद्यालयमा पढाउन थालेको १० वर्ष पुगिसकेको छ । काठमाडौं महानगपालिकाले नै उनलाई दरबन्दीमा राखेको छ । उनको कैद पनि भुक्तान पनि हुँदै छ । तर उनी खुल्न चाहँदैनन् । उनी गणितको विषयको शिक्षक हुन् । उनी आफै एमएड गर्दै छन् । उनीसँगै अन्य दुईवटा विद्यालयका प्रधानाध्यापक पनि कैदी नै हुन् । उनीहरूले पनि कैदी विद्यार्थीहरूलाई पढाइरहेका छन् । जगन्नाथ माध्यमिक विद्यालयमा ८५ वर्षीय एक कैदीले यसै वर्ष कक्षा ११ को परीक्षा दिएका छन् । कारागारमा आजीवन कैद भुक्तान गरिरहेका ती व्यक्तिले फुर्सद्को समयलाई सदु्पयोग गरेर पढाईलाई अघि बढाएका हुन् । 

समाजमा सुधार र पुनर्संयोजनका लागि कैदीहरूलाई शिक्षा दिइएको केन्द्रीय कारागारका सूचना अधिकारी वैकुण्ठ रेग्मी बताउँछन् । कैदी विद्यार्थीहरूका लागि डिप्लोमा र डिग्रीको पढाइ पनि आवश्यक रहेको उनले बताए । ‘कारागारभित्र कैदीबन्दीका लागि सञ्चालन हुने स्कुलरशिक्षा कार्यक्रमलाई कैदी विद्यालय हो, विद्यालयहरूले कैदीहरूलाई शैक्षिक अधिकार र ज्ञान प्रदान गर्ने काम गर्छन् जसले उनीहरूको पुनर्संयोजन पुनः समाजमा भाग लिन सजिलो बनाउँछ,’ उनले भने । अन्य विद्यार्थीसरह कैदीहरूले पनि नियमित परीक्षा दिन्छन् । परीक्षा सेन्टरको व्यवस्था कार्यालयभित्र नै मिलाइएको छ । 

कैदी विद्यार्थीहरूलाई परिवारले नै बेवास्ता गर्ने भएकाले अध्ययन गर्न आवश्यक सामग्री जुटाउन सकिरहेका छैनन् । काठमाडौं महानगरपालिकाले दिँदै आएको स्टेसनरी सामग्री र खाजा पछिल्लो वर्षदेखि कटौती गर्दै आएको कैदीबन्दी शिक्षकहरु बताउँछन् । सरकारले पनि उनीहरूलाई सुविधा दिन सकिरहेको छैन । एक कैदीबराबर ७ सय ग्राम चामल र दिनको ८५ रुपैयाँ दिने गरेको छ । त्यो ८५ रुपैयाँले तरकारी, नुन तेल, साबुन, शैक्षिक सामग्रीलगायतमा खर्च गर्नुपर्छ । यो महँगीमा त्यो पैसाले नपुग्ने कैदी विद्यार्थीहरूले गुनासो गर्दै आएको रेग्मी बताउँछन् ।  

विसं १९७१ सालमा केन्द्रीय कारागारभित्र स्थापना भएको जगन्नाथ माध्यमिक विद्यालय, बन्दी विकास आधारभूत विद्यालय, महिला बन्दी विकास आधारभूत विद्यालयमा गरेर अहिले करिब ८ सय कैदी विद्यार्थीहरूले कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका छन् ।  

केन्द्रीय कारागारका अनुसार, जगन्नाथ माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म ३ सय ९६ विद्यार्थीहरू अध्ययनरत छन् । त्यस्तै, बन्दी विकास आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म ८४ विद्यार्थी छन् भने महिला कैदीहरूका लागि अलग विद्यालय छ । महिला बन्दी विकास आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म ८३ जना कैदी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । कक्षाहरू बिहान र साँझ दुई सिफ्ट चल्ने गरेका छन् ।  यो खबर मध्यान्हबाट लिएका हौ ।

प्रतिक्रिया