तीन हजार बिन्दु नाघ्दै नेप्से उक्लियो, शेयर बजारमा उत्साह

hitkhabar.com


काठमाडौं । नेपाली शेयर बजारमा पुनः उत्साह देखिएको छ । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से परिसूचक तीन हजार बिन्दुभन्दा माथि उक्लिएको छ ।

आज (मंगलबार) साढे १२ बजेसम्म नेप्से परिसूचक ४३.६६ अंकले बढ्दै ३०१४.९७ मा पुगेको छ । यस अवधिमा कुल ७ अर्ब ६४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा १ करोड ७२ लाख ९४ हजार कित्ता शेयर किनबेच भएका छन् । बजार खुलासँगै मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्त का शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पछिल्लोपटक नेप्से गत वर्षको साउनमा ३ हजार बिन्दु नाघेपनि त्यसयता लगातार ओरालो लागिरहेको थियो। तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि लगानीकर्ताको मनोबल उच्च बनेको देखिन्छ ।

विश्लेषकहरूका अनुसार सरकार तथा राष्ट्र बैंकको नीतिगत स्पष्टता र बजारप्रति सकारात्मक संकेतले शेयर बजारमा उत्साह थपिएको हो ।

प्रतिक्रिया