वीरगञ्जमा हैजाको त्रास, ९३ जनामा संक्रमण पुष्टि

hitkhabar.com


वीरगञ्ज । पिउने पानी र सरसफाइप्रति बेवास्ताले वीरगञ्जमा हैजाको त्रास बढेको छ । नारायणी अस्पताल पुगेका वीरगञ्ज–१२ का एक बिरामीले भने, “पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो।” यस्ता लक्षण देखिएका बिरामीहरू बढ्दै जाँदा हैजा संक्रमण फैलिएको पुष्टि भएको हो ।

हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा ९३ जनामा हैजा देखिएको छ । सबैभन्दा बढी बिरामी नारायणी अस्पताल र तराई अस्पतालमा भेटिएका छन्, जहाँ ३२–३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसपछि नेशनल मेडिकल कलेजमा १२ जना संक्रमित फेला परेका छन् । त्यस्तै भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जना, अली अर्था अस्पतालमा २ जना, र अन्य निजी अस्पताल—नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, मेडिसिटी वायोधा र सर्वोत्तममा १–१ जना संक्रमित देखिएका छन् ।

स्वास्थ्यकर्मीहरूले हैजाको मूल कारण प्रदूषित पानी र सरसफाइको कमी भएको बताएका छन् । संक्रमितको संख्या बढ्दै गएपछि महानगर र स्वास्थ्य निकायले आपतकालीन रुपमा औषधि वितरणलाई तीव्र बनाएका छन् । तर स्थानीयवासी भने सुरक्षित खानेपानी र सरसफाइलाई तत्काल प्राथमिकता दिनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया