काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले “आमा पनि वंश हो” भन्ने संवैधानिक मर्मलाई संस्थागत गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत विधेयकका सम्बन्धमा बोल्दै उनले यसले बाबुको पहिचान नभएको अवस्थामा पनि आमाको नामबाट सन्तानले नागरिकता पाउने प्रावधानलाई सुनिश्चित गरेको स्पष्ट पारे ।
गृहमन्त्री लेखकले भने, “यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थिति सुनिश्चित गरेको अवस्था छ । हामीले ऐतिहासिक प्रस्थान गरेका छौं । आमा पनि वंश हो । आमाबाट पनि वंश कायम हुन्छ ।” उनका अनुसार बाबुको नाम जन्मदर्ता वा शैक्षिक प्रमाणपत्रमा भए पनि बाबुको पहिचान पुष्टि गर्न नसक्ने अवस्थामा नेपाली आमाका सन्तानले आमाको नागरिकताको आधारमा नै नागरिकता प्राप्त गर्न सक्नेछन् ।
लेखकले नेपालको अन्तरिम संविधानअनुसार बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्को मृत्यु भएको वा सम्पर्कविहीन अवस्थामा रहेकाको सन्तानले अङ्गीकृत नागरिकता पाउने व्यवस्था रहेको बताए । नेपाली आमाबाट विदेशमा जन्मेर नेपालमै बसोबास गर्ने तर विदेशी नागरिकता वा राहदानी नलिएका, साथै बाबुको पहिचान नभएकाले नागरिकता विहीन बनेका व्यक्तिहरूले पनि अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछन् ।
विधेयकमा सोह्र वर्ष नपुगेका तथा बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक भएका नाबालकले वैदेशिक यात्रामा सहज बनाउन नाबालक परिचयपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । यससँगै विगतमा अदालतले जारी गरेका परमादेश कार्यान्वयन हुने र आदेशहरूको कार्यान्वयनमा एकरूपता कायम हुने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ ।
गृहमन्त्री लेखकका अनुसार बदलिँदो सामाजिक परिवेशमा विशेषगरी वैदेशिक रोजगारीमा गएका नेपाली महिलाका सन्तान नागरिकता विहीन बन्नु परेको अवस्थाको समाधानका लागि विधेयकले स्पष्ट बाटो देखाएको छ । उनले भने, “संविधानको भावना अनुसार कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुँदैन । आमाको नामबाट नागरिकता दिने प्रावधानले संवैधानिक व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुनेछ ।”