काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन्। महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएपछि कानुनी प्रावधानअनुसार डंगोल स्वतः कार्यवाहक प्रमुख बनेकी हुन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मेयरको पद रिक्त भएमा उपमेयरले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। सोही ऐनअनुसार डंगोलले महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेकी हुन्।
यसैबीच, मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय पुगेका छन्। त्यहाँ उनले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी ग्रहण गरिसकेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीमा रहेको स्रोतले जनाएको छ।
18 Jan 2026