काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, अर्थात् रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) देशभर विधिपूर्वक मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले बिहानै पवित्र नदी, तलाउ वा पोखरीमा स्नान गरी गुरु पुरोहितबाट नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र (डोरो) धारण गरेका छन् ।
उपनयन संस्कार भएकाहरूले विधिपूर्वक मन्त्रिएको जनै लगाउने र रक्षासूत्र बाँध्ने धार्मिक परम्परा रहँदै आएको छ । यस दिन जनै फेर्ने तथा रक्षाबन्धन बाँध्दा नकारात्मक ऊर्जा र अशुभ प्रभावबाट रक्षा हुने विश्वास छ ।
त्यसैगरी दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दाहिने हातमा राखी बाँधेर दीर्घायु, स्वास्थ्य र सफलताको कामना गर्ने र दाजुभाइहरूले दिदीबहिनीलाई उपहारसहित जोगाउने वचन दिने चलन छ । नेपालका तराई क्षेत्र, भारत र बङ्गलादेशमा यो पर्वको विशेष महत्व छ ।
क्वाति खाने विशेष दिन
रक्षाबन्धन र जनै पूर्णिमामा भिजाएर अङ्कुरित नौ थरी गेडागुडीबाट बनेको “क्वाति” खाने चलन छ । मूँग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो मिसाएर बनाइने यो परिकारलाई तातो झोलिलो रूपमा पकाइन्छ । यही कारण यो दिनलाई “क्वाति खाने दिन” पनि भनिन्छ ।
मन्दिरमा भक्तजनको भीड
आज बिहानैदेखि पशुपतिनाथ मन्दिर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र देशभरका मठ–मन्दिरमा रक्षाबन्धन बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनहरूको भीड देखिएको छ । धार्मिक उत्साहसँगै मेलापातजस्तो वातावरण बनेको छ ।