सबै संघीय अस्पतालमा डिजिटल सेवा : टिकट र भुक्तानी अनलाइनमार्फत

hitkhabar.com


काठमाडौं । अब देशभरका सबै संघीय अस्पतालमा सेवा लिँदा अनिवार्य रूपमा डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक पत्र जारी गर्दै सम्पूर्ण संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरुलाई अनलाइन तथा क्युआर (QR) कोडमार्फत बिल भुक्तानीको व्यवस्था तत्काल मिलाउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकलाई सहज बनाउने उद्देश्यसहित नौ बुँदे सुधार योजना ल्याएका थिए । सोही योजनाअनुसार डिजिटल भुक्तानी प्रणालीलाई कार्यान्वयनमा ल्याउन लागिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले अस्पतालमा भीड व्यवस्थापन गर्न, टिकट लिने प्रक्रियालाई छिटो बनाउने र सर्वसाधारणले भुक्तानी गर्दा अनावश्यक सास्ती भोग्न नपर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

मन्त्रालयले पत्राचारसँगै अस्पतालहरूमा डिजिटल भुक्तानीको कार्यान्वयनको अनुगमन गर्न गुणस्तर मापन तथा नियमन महाशाखालाई जिम्मा दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरूले मन्त्रालयसमक्ष पेश गरेको नौ बुँदे सुधार योजनामध्ये सेवा प्रवाह, अनलाइन टिकट प्रणाली, डिजिटल पेमेन्ट र भीड व्यवस्थापनलाई मुख्य प्राथमिकता दिइएको जानकारी दिनुभयो । उहाँले अब अस्पतालहरूको अनुगमन थप कडा हुने चेतावनीसमेत दिनुभयो ।

यससँगै अब संघीय अस्पतालमा सेवा लिन लाइनमा लामो समय कुर्नुपर्ने झन्झट कम हुँदै जाने विश्वास गरिएको छ ।

प्रतिक्रिया