ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीसँग सम्बन्धित प्रतिष्ठान र फाउण्डेशनहरू व्यक्तिगत स्वार्थको केन्द्र बन्न नहुने बताएका छन् । उनका अनुसार यस्ता संस्थाहरू पार्टीको आन्दोलन र समग्र हितमा समर्पित हुनुपर्छ ।
सोमबार ललितपुरमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख संरक्षकसमेत रहेका ओलीले भने, “प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन हुँदैन । पार्टीसँग निष्ठावान भई जनताको बहुलवादी जनवादको वैचारिक यात्रामा योगदान दिनुपर्छ ।”
अध्यक्ष ओलीले स्मरण गरे, “मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकमा, २०५० जेठ ९ गतेको पार्टी निर्णयअनुसार स्थापना भएको हो ।” उनका अनुसार, त्यसपछिका दिनमा पार्टीले मदन जयन्तीप्रति पर्याप्त ध्यान नदिँदा व्यक्तिगत पहलमा मदन भण्डारी फाउण्डेशन स्थापना भए पनि अहिले यसको गतिविधि र नेतृत्व आन्दोलनप्रति निष्ठाविहीन देखिएको छ ।
उनले नयाँ नेतृत्वलाई सामाजिक अध्ययन, व्यक्तित्व विकास, निष्ठा, ज्ञान, मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न आग्रह गरे । गत वैशाख २३ गते तत्कालीन अध्यक्ष प्रदीप नेपालको निधन भएपछि साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन् ।