काठमाडौं । बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको विपी राजमार्गलाई छिट्टै सञ्चालनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बिहीबार विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लासँग जोड्ने ‘लाइफलाइन’ सडक भएकाले त्यसको पुनः सञ्चालनलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।
उनले सडक विभाग, ठेकेदार र निर्माण व्यवसायीलाई सहकार्यपूर्वक काम गरी सडकलाई अस्थायी रूपमा भए पनि तुरुन्त सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।
अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायत अधिकारी सहभागी थिए।
गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालनमा आएको भए पनि यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्ण रूपमा बगाएको हो।
सडक विभागका अनुसार, स्थायी संरचना निर्माणका लागि केही खण्डमा ठेक्का सम्झौता भइसकेको छ भने बाँकी खण्डको सम्झौता अन्तिम चरणमा पुगेको छ। मन्त्रालयले आवश्यक स्रोत र उपकरण परिचालन गरी विपी राजमार्गलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने तयारी गरेको छ।