प्रचण्ड र रवि लामिछानेबीच भेट, विभेद र असन्तुष्टिबारे छलफल

hitkhabar.com


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, लामिछानेलाई भैरहवा पुगेर भेट्न चाहेको भए पनि समय नमिलेको कारण त्यहाँ जान नपाएको जानकारी दिए ।

प्रचण्डका अनुसार लामिछानेको काठमाडौंमा बसाइ भैरहवा कारागारको तुलनामा सहज रहेको छ । साथै, लामिछानेले पछिल्लो समय आफूमाथि भएको व्यवहार र विभेदबारे असन्तुष्टि व्यक्त गरेका थिए ।

‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्रै लखेटिएको गुनासो उहाँको थियो,’ प्रचण्डले भने । उनले थपे, ‘अहिले पनि मसँग राख्नुभयो, सदनदेखि सडकसम्म बोलेको कुरा उहाँलाई थाहा थियो, मैले त्यो दोहोर्याएँ ।’

लामिछानेले अदालतले तोकेको धरौटी राखेर मुद्दा लड्न चाहँदा पनि सुविधा नपाएको उल्लेख गर्दै, सरकार र सत्तारूढ गठबन्धनले आफूप्रति अनुदार र विभेदकारी व्यवहार गरेको बताएका थिए ।

प्रचण्डले भने, ‘उहाँमाथि भएको विभेद कम होस्, सहज वातावरण बनोस् भन्ने चाहना हो । तर उहाँले महसुस गर्नुभएको रहेछ भने कांग्रेस र एमालेले जसरी व्यवहार गरे, त्यसले उहाँ र उहाँको पार्टीलाई राजनीतिक फाइदा नै पुर्‍याएको देखिएको रहेछ ।’

भेटमा समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया