काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भू–भाग लिपुलेक नाका खोल्ने विषयमा भारत र चीनबीच भएको एकतर्फी सहमति स्वीकार्य नहुने स्पष्ट गरेको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालद्वारा मंगलबार जारी विज्ञप्तिमा रास्वपाले नेपाल सरकारको प्रत्यक्ष सहभागिता र सहमति बिना हुने कुनै पनि सम्झौता वैध नहुने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ । नेपाली भू–भागमाथि अन्य देशहरूको गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन । यस विपरित हुने कार्य आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरीत हुने भन्नेमा पार्टी स्पष्ट छ ।”
रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी प्रश्न स्पष्ट र दृढतापूर्वक उठाउन पनि माग गरेको छ। साथै हालैको सम्झौतापछि सरकारले प्रस्तुत गरेको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले विवाद समाधानका लागि सत्ता वा प्रतिपक्षको भेदभन्दा माथि उठी कूटनीतिक, शान्तिपूर्ण र प्रभावकारी बाटो अवलम्बन गर्नुपर्ने अडान दोहोर्याएको छ ।