वीरगंजमा हैजाको संक्रमण फैलियो, मातहतका निकायलाई प्रदेश सरकारको निर्देशन

hitkhabar.com


जनकपुर । पर्साको वीरगंजमा हैजाको संक्रमण देखिएपछि मधेश प्रदेश सरकारले उपचार तथा संक्रमण नियन्त्रणका लागि विशेष तयारी थालेको छ । यसका लागि स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको छ ।

कार्यवाहक मुख्यमन्त्री सरोजकुमार यादवले संक्रमित क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउन र थप फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

उपचार सेवा थप प्रभावकारी बनाउन मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरलाई वीरगंज पठाइएको छ ।

शुक्रबार राति वीरगन्ज–१२ मुर्ली टोलमा हैजाको संक्रमण देखिएकोमा शनिबार मध्यान्हसम्ममा वडा नम्बर ११, १३ र १६ मा समेत हैजा फैलिएको छ ।

३० भन्दा बढी बिरामी र झाडापखालका कारण तीन जनाको मृत्यु भएपछि वीरगन्ज महानगरमा हैजाले जनजीवन त्रसित बनेको छ ।

प्रतिक्रिया