काठमाडौं । भगवान् गणेशको पूजा–आराधना गर्दै आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्व सत्ययुगमा भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतासँग सम्बन्धित छ ।
शिव–पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । यस दिन हरितालिका (तीज) व्रत पारायण गरी गणेश व्रत गर्ने परम्परा रहिआएको छ । गणेश पुराणअनुसार सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गर्दै व्रतालुले जीवनमा बिघ्न नआओस् भनी गणेश पूजाको विधान गरिएको छ ।
बिहान हरितालिका (तीज) व्रतको पारायण गरी मध्याह्नमा गणेश पूजा र अर्घ्य दिने विधि छ । नेवार समुदायले यस पर्वलाई ‘चथाः’ नामले मनाउने गर्छन् । बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा विद्यमान छ । विसं २०६५ देखि चतुर्थीको भोलिपल्ट काठमाडौंलगायत प्रमुख शहरमा गणेश रथयात्रा गर्ने परम्परा सुरु भएको हो । यस्तै, विसं २०६४ मा यसै दिन स्थापित राष्ट्रिय धर्मसभाको स्थापना दिवसका रूपमा पनि यो दिन मनाइन्छ ।
गणेश चतुर्थीका अवसरमा आज काठमाडौं उपत्यकाका सूर्यविनायक, कमलविनायक, अशोकविनायक, चन्द्रविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।