काठमाडौं । संघीय संसद अन्तर्गतका पाँच वटा संसदीय समिति आज (सोमबार) बैठकमा बस्दै छन् । बैठकहरूमा विभिन्न विधेयक तथा कार्ययोजनामाथि छलफल गरिने कार्यसूची तय गरिएको छ ।
संसद सचिवालयका अनुसार, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिका बैठक आज बस्न लागेका हुन् ।
कुन बैठक कहिले?
* बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनबारे संशोधनकर्ताहरूसँग छलफल हुने छ ।
* बिहान ११ बजे सार्वजनिक लेखा समितिको ४७औं बैठक बस्दैछ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ ।
* बिहान ११:३० बजे विधायन व्यवस्थापन समितिको ९९औं बैठक हुनेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची छ ।
* दिउँसो १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गरिनेछ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० बारे सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यसूची तय भएको छ ।