सहमति नजुट्दा कांग्रेसमा फुटको सन्त्रास

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन संस्थापनसँगको सहमति प्रयासका कारण लम्बिइरहेको छ । दुई पक्षबीच सहमति नहुँदा कांग्रेस औपचारिक रूपमै फुट सँघारमा पुगेको छ भने पार्टी सभापति शेरबहादुर देउवालाई गलाएर सहमतिमा ल्याउन विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम सार्वजनिक गरे पनि सारिरहेका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने सभापति देउवाको राजनीतिक संन्यास अडान कायम राखेका छन् । विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट मंगलबार दिनभर ठोस निष्कर्ष निस्कन नसक्दा विशेष महाधिवेशनको निष्कर्ष र एकताबद्ध समापनको साझा उपाय निस्कन सकेको छैन । एकातिर कांग्रेस विशेष महाधिवेशन चल्दैगर्दा अर्कोतर्फ पार्टी एकता जोगाउन छलफल जारी छ ।

नेता–कार्यकर्तामा व्याप्त फुट त्रासबीच पार्टी एकढिक्का बनाइराख्न वार्ता समितिसहित नेता छुटाछुटै छलफलमा छन् । कांग्रेस सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्मा पक्षबाट गठित वार्ता समितिले दुई चरणमा छलफल गरेको छ । देउवा समूह विशेष महाधिवेशनमा सहभागी छैन । थापा र शर्मा समूहले विशेष महाधिवेशनमा सहभागी हुँदै नेतृत्व चयन चरणमा पुगेको छ ।

यसबीच नेताहरू मिलनबिन्दु खोजीसमेत पार्टी विभाजनबाट जोगाउने प्रयासमा छन् । विशेष महाधिवेशन पक्षधरले सभापति देउवाले राजीनामा दिँदै पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने बटमलाइन’मा सहमति हुन नसक्दा वार्ता निष्कर्षविहीन भएको हो ।

त्यस्तै, विशेष महाधिवेशन पक्षधरबाट देउवाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने घोषणासहित राजनीतिबाटै ‘संन्यास’ लिनुपर्ने अडान आएको छलफलमा सहभागी एक नेताले मंगलबार साँझ राजधानीलाई बताए ।

‘मुख्य विषय पार्टीलाई विभाजन हुन नदिने र सहमतिकै आधारमा अघि बढ्नुपर्ने हो । तर, सभापति देउवाले राजीनामा दिनुपर्ने, निर्वाचनमा उम्मेदवार नहुने, राजनीतिबाटै संन्यास लिनुपर्ने अडान राख्नु ठिक होइन । र यस विषयमा हामीले केही भन्न पनि मिल्दैन,’ देउवानिकट एक नेताले भने, ‘सभापतिले उम्मेदवार हुने कि नहुने रु भन्ने उहाँले नै भन्नुपर्ने हो, हामीले भन्न मिल्दैन । त्यही भएर यी विषय’दयगत थप छलफल आवश्यक छ ।’ छलफलक्रममा उठेका अन्य विषयमा भने दुबै पक्ष सहमत छन् । विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्नु पर्ने, त्यहाँबाट पारित दस्तावेज कार्यान्वयन विषयमा सहमति भएको छ ।

तर, संस्थापन पक्षबाट आसन्न निर्वाचनमा सहभागी हुने र आगामी वैशाख अन्तिम साता सहमतिमै नेतृत्व चयन गर्ने प्रस्ताव थापा र शर्मा समूहले अस्वीकार गरेको छ । सभापति देउवाकै हस्ताक्षरमा टिकट लिएर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा सो समूह छ । दुबै समूहले वार्ता समिति नै गठन गरेर छलफल गरेका छन् । देउवा समूहबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर काइरालाका तर्फबाट जीवन परियार र डा। मिनेन्द्र रिजाल वार्ता समितिमा छन् ।

यसैगरी, विशेष महाधिवेशन पक्षबाट प्रदिप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य वार्ता समितिमा छन् । वार्ता समितिमा उठेका कतिपय विषयमा सहमति नजुटेपछि थप छलफल पार्टी नेतृत्वले गर्ने भएका छन् । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन हुन नदिने’दयगत महामन्त्रीद्वय थापा र शर्मासँग निर्णाय छलफल गर्ने भएका छन् । छलफलमा बसेका नेताले मात्रै नेतृत्वको राजनीतिक विश्राम र राजीनामा’दयगत निर्णय गर्न नसक्ने भन्दै शीर्षनेतासँग छलफल गर्ने भएका हुन् ।

कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीलाई विभाजनबाट जोगाउन र एकता कायम राख्न आफूहरू अधिकत्तम चलक हुन तयार रहेको बताए । ‘हामी विशेष महाधिवेशनबाट के निर्णय हुन्छ ? त्यसको पर्खाइमा छौं,’ उनले भने, ‘पार्टी एकता कायम राख्न, विभाजन हुन नदिन अधिकत्तम चलकता अपनाउने छौं ।’

शर्माको प्रस्ताव पारित

विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको ‘सांगठनिक प्रस्ताव’ पारित भएको छ । कांग्रेस विधान संशोधन गर्दै अब एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसद बन्ने प्रस्ताव पारित भएको हो । जनताबाट प्रत्यक्ष निर्वाचित प्रणालीअनुसार चारपटक सांसद र समानुपातिक निर्वाचन प्रणालीबाट एकपटकमात्रै सांसद हुन पाउने प्रस्ताव पारित भएको छ । अब निरन्तर एउटै पदमा टाँसिरहने अवस्था अन्त्य हुने विश्वास कांग्रेस प्रतिनिधिको छ ।

नेतृत्व चयनमा सहभागी नहुने

आइतबारदेखि सुरु कांग्रेस विशेष महाधिवेशनमा मंगलबारदेखि सभापतिदेखि केन्द्रीय सदस्यसम्मको विभिन्न पदमा उम्मेदावारी दर्ता, फारम वितरणलगायतका प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले नेतृत्व चयनका लागि मंगलबार रातिदेखी गर्ने भनिएको मतदान बुधबार (आज) मात्रै हुने छ । यसैबीच, विशेष महाधिवेशनको पक्षमा खुलेका कांग्रेसका नेता डा.चन्द्र भण्डारी, डा.सुनिल शर्मासहितका नेताले नेतृत्व चयन प्रक्रियाबाट अलग भएको जनाएका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

प्रतिक्रिया