जनकपुर । मधेश प्रदेशमा आज चौठचन्द्र (चौरचन) पर्व श्रद्धा र विश्वासका साथ धूमधामपूर्वक मनाइएको छ ।
परम्पराअनुसार विवाहित महिलाले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य तथा परिवारको सुख–समृद्धिका लागि दिनभर निराहार व्रत बस्ने गर्छन् । बेलुकी चन्द्रमा उदाएपछि पूजा–अर्चना गरी अघ्र्य अर्पण गर्ने परम्परा रहँदै आएको छ ।
मान्यता अनुसार चौठचन्द्रको व्रतले सन्तानलाई रोग–व्याधिबाट रक्षा गर्ने र घरमा शान्ति–समृद्धि ल्याउने विश्वास गरिन्छ । यस अवसरमा महिलाहरू समूहगत रूपमा भेला भई कथा सुन्ने, भजन–कीर्तन गर्ने तथा धार्मिक क्रियाकलापमा सहभागी हुने चलन अझै प्रचलित छ ।
मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाले परिवारको कल्याण र मातृभक्तिले भरिएको यो पर्वले सामुदायिक ऐक्यबद्धता र सांस्कृतिक मेलमिलापलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । केही स्थानमा यस पर्वलाई गणेश चतुर्थीसँग पनि जोडेर पूजा गर्ने परम्परा रहेको छ ।