काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ। शुक्रबारका लागि सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन ९ हजार २ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ रहेको थियो।
व्यवसायीहरूका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय तनाव र भूराजनीतिक अनिश्चितताका कारण विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाइरहेका छन्, जसले माग र मूल्य दुवै बढाएको हो।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँ बढी हो। यसअघि चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा किनबेच भएको थियो।
23 Jan 2026