काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक भारी गिरावटसहित बन्द भएको छ । बुधबार २८ सय बिन्दुमाथि पुगेको नेप्से आज ३८.१० अंकले घटेर २७८१ बिन्दुमा झरेको हो ।
बुधबार नेप्से ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेको थियो । तर आज भने परिसूचक घटेपनि कारोबार रकम भने बढेको देखिएको छ ।
आज ३२२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ पुगेको छ । बुधबारको कारोबार ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको मात्र भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ५.७४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले ओरालो लागेको छ ।
बढेका कम्पनी
आज विकास हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ५६८.९० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, मैलुङखोला जलविद्युत २०.५६ रुपैयाँले बढेर ५८९.२१ रुपैयाँमा, थ्रि स्टार हाइड्रोपावर २८.१२ रुपैयाँले बढेर ८५३.२० रुपैयाँमा र एनएलजी इन्स्योरेन्स २६.०९ रुपैयाँले बढेर ८४४.२६ रुपैयाँमा बन्द भएका छन् ।
घटेका कम्पनी
ओरियन्टल होटल्स ४.७१ प्रतिशतले घटेर ८५९.७४ रुपैयाँमा, लुम्बिनी विकास बैंक ४.१८ प्रतिशतले घटेर ५५२.९९ रुपैयाँमा र सांग्रिला विकास बैंक ३.८७ प्रतिशतले घटेर ४३१.३९ रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा बढी कारोबार
आज नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरका शेयरमा सबैभन्दा बढी कारोबार भएको छ ।