काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।
संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको धारा ९५ बमोजिम प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
संयुक्त बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यलाई अपराह्न ३ः४५ बजेअघि नै उपस्थित हुन आग्रह गरिएको छ । त्यसअघि दिउँसो २ बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका छ ।
प्रतिनिधिसभाको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी जानकारी गराउने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिनेछ भने नियमावलीको मस्यौदामाथि पनि प्रक्रिया अघि बढाइनेछ ।
यसैबीच सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस गरिने भएका छन् । ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रस्तुत गरिने कार्यसूची रहेको छ ।