काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले शैक्षिक सत्र २०८२–८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा छोटो समयमै सार्वजनिक गर्ने तयारी गरिरहँदा स्प्यारो एसएमएस (जानकी टेक्नोलोजी प्रा.लि.) ले यस वर्ष पनि विद्यार्थीहरूको मोबाइलमै नतिजा उपलब्ध गराउने आफ्नो लामो समयदेखिको आधिकारिक साझेदारीलाई निरन्तरता दिने घोषणा गरेको छ।
बोर्डले परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। सोहीअनुसार ५ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले वेबसाइटमा भीड वा सर्भर डाउन हुने समस्या बिना नै ३५००१ सर्ट कोडमार्फत सजिलै नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
१६ वर्षदेखि डिजिटल सेवा विस्तार
सन् २०१० देखि नेपालमा SEE नतिजा हेर्ने डिजिटल प्रणालीलाई संस्थागत रूपमा स्थापित गर्दै आएको स्प्यारो एसएमएसले विगत १६ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ। एक समय गोरखापत्र वा साइबर क्याफेमा निर्भर रहनुपर्ने अवस्था हटाएर सामान्य मोबाइल एसएमएसमार्फत नतिजा हेर्न सकिने व्यवस्था यही प्रणालीले सुरु गरेको हो।
स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज थापाले भने,
“हाम्रो लक्ष्य सधैं एउटै छ—विद्यार्थीहरूको जीवनको महत्वपूर्ण क्षणलाई सहज बनाउनु। ३५००१ सर्ट कोडमार्फत हामी सुनिश्चित गर्छौं कि देशका जुनसुकै कुनामा रहेका विद्यार्थीले पनि आफ्नो नतिजा तुरुन्त प्राप्त गर्न सकून्।”
एसएमएसमार्फत नतिजा हेर्ने तरिका
SEE २०८३ को नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले निम्न प्रक्रिया अपनाएर नतिजा हेर्न सक्नेछन्—
- मोबाइलको मेसेज एप खोल्नुहोस्
- टाइप गर्नुहोस्: SEE [आफ्नो सिम्बोल नम्बर]
- पठाउनुहोस्: 35001 मा
उदाहरण: SEE 12345678A टाइप गरी 35001 मा पठाउने
यस सेवामार्फत विद्यार्थीले आफ्नो GPA सहितको विस्तृत नतिजा तत्काल प्राप्त गर्न सक्नेछन्।