राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति हावी भयो : कांग्रेस उपसभापति गुरुङ

hitkhabar.com


स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले मुलुकको राजनीतिमा एकले अर्कालाई खुट्टा तान्ने प्रवृत्ति हावी हुँदै गएको गुनासो पोख्नुभएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति तथा संविधानसभा सदस्य स्वर्गीय कमलप्रसाद पंगेनीको सातौँ स्मृति सभा तथा पंगेनी प्रतिष्ठानको प्रथम अधिवेशनलाई स्याङ्जाको भिरकोटस्थित सिटिहलमा सम्बोधन गर्दै गुरुङले अहिले प्रतिस्पर्धा भन्दा पनि चरित्र हत्या गरेर अगाडि बढ्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्कासँग प्रतिस्पर्धा गर्ने भन्दा पनि कसरी खुट्टा तानेर आफू अगाडि जाने भन्ने प्रवृत्ति हावी भएको छ । यो मानसिकता अन्त्य नभएसम्म पार्टी बलियो हुँदैन ।”

गुरुङले पार्टीभित्रको असन्तुष्टि सार्वजनिक कार्यक्रम वा सामाजिक सञ्जालमा व्यक्त गर्नुको सट्टा आधिकारिक निकायमा राख्नुपर्नेमा जोड दिनुभयो । “सभासम्मेलन वा चिया पसलमा पार्टी गाली गरेर कांग्रेस बलियो हुँदैन,” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीभित्रको विद्यमान चरित्र हत्या प्रवृत्तिलाई खारेज गर्दै यस्तो प्रवृत्तिले कांग्रेसको साख गिराउने उल्लेख गर्नुभयो । “जसले सदाचारको कुरा उठाउँछ, उसैलाई प्रहार गर्ने प्रवृत्ति बढेको छ,” गुरुङले भन्नुभयो, “कसैलाई तान्नकै लागि घरमा पुजापाठसम्म गर्ने प्रवृत्ति गलत हो । मैले यस्तो गरेको छैन, अरूलाई पनि नगर्न अनुरोध गर्छु ।”

स्वर्गीय कमलप्रसाद पंगेनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गुरुङले विपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको आदर्शलाई आत्मसात गर्न सके मात्र पंगेनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उहाँले कांग्रेसको मूल विचार राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसात गर्दै अघि बढ्न सच्चा कार्यकर्ताहरूले प्रतिबद्ध रहनुपर्ने बताउनुभयो । “राष्ट्रियता, प्रजातन्त्र र समाजवाद एकै डोरीका तीन पोया हुन्, देशभन्दा माथि पार्टी हुन सक्दैन,” उहाँले प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया