काठमाडौं । परम्परागत शैलीले न देशलाई क्रान्तिको बाटोमा लैजान सकिन्छ, न त वास्तविक निकास दिन सकिन्छ भन्ने धारणा कम्युनिस्ट नेताहरूले राखेका छन्।
शनिबार राजधानीको संवाद डबलीमा आयोजित ‘क्रान्तिकारी कम्युनिस्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरूले जेन–जी विद्रोहले ठूलो पाठ दिएको भन्दै अब नयाँ सोच र शैलीबाट मात्र मुलुकलाई परिवर्तन सम्भव हुने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले अब परम्परागत शैलीलाई बदल्नैपर्ने अवस्था आएको स्पष्ट पारे। उनले भने, “देश र जनताले क्रान्तिकारीहरु एक भएको देख्न चाहेका छन्। त्यसैले साझा एजेण्डा बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो।”
क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले साझा कार्यक्रमको अभावकै कारण एकता नहुने अवस्था सिर्जना भएको उल्लेख गरे। उनका अनुसार, कतिपय अवस्थामा भावनामा बगेर एकता हुने तर कार्यक्रम नमिल्दा टिक्न नसक्ने प्रवृत्तिले क्रान्तिकारी शक्तिलाई कमजोर बनाएको छ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य जाग्रित रायमाझीले नेताहरूको निजी स्वार्थकै कारण एकता रोकिएको बताए। उनले भने, “ओलीको अहंकार र प्रचण्डको घमण्डले क्रान्तिकारी कम्युनिस्टहरू थप कमजोर बनेका छन्।” रायमाझीले पुँजीवादी भूमण्डलीकरणले विश्वव्यापी रूपमा अबरोध खडा गरिरहेको उल्लेख गर्दै विज्ञान र प्रविधिलाई उत्पादनमा जोड्न सके मात्रै देश परिवर्तन सम्भव हुने धारणा राखे।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणप्रसाद शर्माले कम्युनिस्टबीच एकताको प्रमुख बाधक नेतृत्व–प्रधानता भएको टिप्पणी गरे। त्यस्तै नेकपा मशालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समय एकता अझ जरुरी भएको बताए।
त्यसैगरी, माक्र्सवादी एकता समाजका संयोजक श्रीकान्त पण्डित, नेकपा (बहुमत) का कार्यालय सदस्य कृष्ण धमला, मार्क्सवादी महासचिव युवराज कफ्ले, नेकपा कार्यालय सदस्य इन्दिरा अधिकारी, समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य अशोक सुवेदी, नेकपा नेता शरणविक्रम मल्ल, स्वतन्त्र बाम बुद्धिजीवी भूमिनन्दा देवकोटा, डाइलेक्टिकल सोसाइटीका संयोजक विनोद लोहनी, नेकपा सचिवालय सदस्य पुस्कर गौतम र महादिप पोखरेलले समेत परम्परागत ढाँचाभन्दा नयाँ शैलीमा एकता गरेर मात्र क्रान्तिमा जुट्नुपर्नेमा जोड दिएका थिए।