काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।
मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले न्यौपानेलाई सभापति बनाउने निर्णय गरेपछि उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्।
समाचारकर्मीहरूसँग कुरा गर्दै न्यौपानेले भनिन्, “म संसदीय सुनुवाइ समितिको सभापति नै थिएँ। बिहानै पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गर्यो। त्यसपछि हामीले मनोनयन दर्ता गरेका छौँ।”
यसअघि संसदीय सुनुवाइ समितिका सभापति रहेका रामहरि खतिवडाले नैतिक आधारमा राजीनामा दिएपछि न्यौपानेलाई अघि सारिएको हो।
राजीनामापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले आफू सभापति हुँदा महत्वपूर्ण विधेयकमा काम गर्न सफल भएको र करिब ८० वटा बैठक बसाउन सकेको बताए।
26 Aug 2025