ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिरमा पुगेर दर्शन र पूजा आराधना गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेका थिए ।
कृष्ण जन्माष्टमीका दिन प्रत्येक वर्ष राष्ट्र प्रमुखले पाटनको कृष्ण मन्दिरमा पूजा गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले आज भगवान् श्रीकृष्णको पूजा गरी प्रसाद ग्रहण गरेका हुन् ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधि तथा स्थानीयवासीले स्वागत गरेका थिए ।
इतिहासकारहरूका अनुसार, पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर राजा सिद्धिनरसिंहमल्लको पालामा बनेको हो । किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन जग राखिएको स्थानमा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन सुझाव दिएपछि उत्खनन गर्दा जमिनमुनि कृष्णको प्रतिमा भेटिएको थियो । त्यसपछि तल कृष्ण मन्दिर र माथि शिव मन्दिर स्थापना गरिएको विश्वास रहँदै आएको छ ।