शिक्षक महासंघको चेतावनी : दोस्रो चरणको आन्दोलन अझ कडा हुने

hitkhabar.com


काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा भएको असहमति र छुटिएका विषयलाई समावेश गराउन दबाब दिने उद्देश्यले धर्ना तथा आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ । सोमबार महासंघले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यालय अगाडि धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासंघले भदौ ११ गतेदेखि निरन्तर रूपमा विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लास्तरमा दुई–दुई घण्टा धर्ना दिँदै आएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता गर्दा केही महत्वपूर्ण विषय छुटेको र केही प्रावधान उल्टो दिशामा गएको कारण आन्दोलन गर्नुपरेको बताए ।

उनले भने, “उल्टो दिशामा हिँडेको विषयलाई सुल्टो बनाउन तथा छुटेका विषयलाई समावेश गरेर ऐन जारी गराउन दबाब दिन हामी आन्दोलनमा छौं । हालसम्मका कार्यक्रम पहिलो चरणका हुन्, दोस्रो चरणमा अझ अवरोधात्मक र कडा खालका कार्यक्रम ल्याइनेछ ।”

महासंघले हाल चलिरहेको पहिलो चरणको कार्यक्रम भदौ २० गतेसम्म जारी राख्ने जनाएको छ । त्यसपछि दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ ।

आन्दोलनको अगुवाइ गर्दै आएकी नानु मैया पराजुलीले यसअघि २९ दिन लामो आन्दोलनमार्फत शिक्षा विधेयकमा छलफल अघि बढेपनि उपसमितिमा बुझाइएको प्रतिवेदनप्रति सन्तुष्टि नपाएको कारण पुनः आन्दोलन गर्नुपरेको बताइन् ।

पराजुलीले भनिन्, “शिक्षा विधेयकमा शिक्षकका मागअनुरूपका विषय पूर्णरूपमा सम्बोधन नभएकाले आन्दोलनलाई निरन्तरता दिनु हाम्रो बाध्यता हो ।”

महासंघले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटेका विषयलाई समावेश गराई अग्रगामी ऐन ल्याउन आग्रह गर्दै चेतावनी दिएको छ कि दोस्रो चरणको आन्दोलन अवरोधात्मक मात्र नभई थप कडा खालको हुनेछ ।

प्रतिक्रिया