पछिल्लो परिस्थितिबारे कांग्रेसको धारणा : “एकताबद्ध भएर अघि बढ्छौं”

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्दै विद्यमान परिस्थितिमा पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा कांग्रेसले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति, हिंसात्मक गतिविधि र नेतामाथिका आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेको छ।


वक्तव्यमा प्रदर्शनमा जेनजेडको मूल भावनाविपरीत अवाञ्छित घुसपैठ भएको उल्लेख गर्दै त्यसका कारण संवैधानिक तथा प्रशासनिक संस्थान, सञ्चारगृह, निजी आवास र वित्तीय संस्थामा ठूलो क्षति पुगेको जनाइएको छ।


पार्टी सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित अन्य नेतामाथि भएको भौतिक आक्रमणलाई कांग्रेसले “अमानवीय र निन्दनीय” बताएको छ। साथै, अन्य दलका नेताहरूमाथिका आक्रमणप्रति पनि भर्त्सना गरिएको छ।


प्रतिनिधिसभा विघटनप्रति कडा आपत्ति जनाउँदै कांग्रेसले सो कदम संविधान, लोकतान्त्रिक मूल्य र सर्वोच्च अदालतका अघिल्ला फैसलाविपरीत भएको स्पष्ट पारेको छ। यसलाई अलोकतान्त्रिक र असंवैधानिक ठहर गर्दै कार्यसम्पादन समितिबाटै यसको विरोधमा धारणा सार्वजनिक भइसकेको पार्टीले स्मरण गराएको छ।


कांग्रेसले निष्पक्ष छानबिन र क्षतिको यथार्थ मूल्यांकन तत्काल सुरु गर्न सरकारलाई आग्रह गरेको छ। साथै, सम्पूर्ण नेपाली जनतालाई लोकतन्त्र, संविधान र शान्तिपूर्ण राजनीतिक प्रक्रियाको संरक्षणका लागि एकजुट हुन अपील गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्ने दृढता व्यक्त गरेको छ।

प्रतिक्रिया