काठमाडौं । विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि विस्तृत छलफल भएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले समाजमा देखिएका नयाँ चुनौतीका आधारमा नागरिकता सम्बन्धी कानुन परिमार्जन आवश्यक रहेको धारणा राख्दै नागरिकताको आवेदनमा आमा वा बुबामध्ये एकजनाको विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने स्पष्ट पारे ।
उनले भने, “नेपालको नागरिकताको मूल सिद्धान्त वंशको आधारमा नागरिकता प्रदान गर्ने हो । आमा पनि वंश हो भन्ने प्रयत्न हामी गरिरहेका छौं । तर आमा र बाबामध्ये कसैको नाम नलेखी नागरिकता दिने भन्ने कुराले सही परिणाम दिँदैन ।”
गृहमन्त्री लेखकका अनुसार नागरिकताको आवेदनमा कम्तीमा एकजनाको विवरण उल्लेख गर्नैपर्छ । “आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुपर्छ, बाबाको लेख्न मन छैन भने आमाको नाम लेख्नुपर्छ । तर दुवै खाली राखेर नागरिकता बन्ने स्थिति हुँदैन,” उनले स्पष्ट पारे ।
लेखकले समाज समयसापेक्ष हुने भएकाले कानुन निर्माणमा पनि त्यसअनुसार परिवर्तन अनिवार्य हुने बताए । “हिजो नदेखिएका विषय आज देखिएका छन्, भोलि थप चुनौती आउन सक्छन् । त्यसलाई सम्बोधन गर्न कानुन निरन्तर अद्यावधिक हुनैपर्छ,” उनले भने ।