नेपाली प्रहरीको आव्हान : “सुरक्षा, अपराध नियन्त्रण र शान्ति पुनःस्थापनामा सबै नेपाली एकजुट होऊ”

hitkhabar.com


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले राष्ट्रहित, राष्ट्रिय सुरक्षा र अपराध न्यूनिकरणका लागि सम्पूर्ण नेपालीलाई मुलुक प्रति समर्पित हुन विशेष आव्हान गरेको छ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रहरी महानिरीक्षकको कार्यालयले जेनजी आन्दोलनका कारण भएका अनपेक्षित र दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो संवेदनशील घडीमा प्रहरी र नागरिकबीच साझेदारीपूर्ण सहकार्य आवश्यक रहेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, दिदीबहिनीहरू राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका खातिर जिम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुनु अत्यन्त आवश्यक छ।”

प्रहरीले आन्दोलनका क्रममा घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण तथा अपराधिक समूहबाट हुने सम्भावित क्षति नियन्त्रणमा नागरिक–प्रहरीबीचको साझेदारी र सहकार्य अपरिहार्य भएको उल्लेख गरेको छ।

नेपाल प्रहरीले सार्वजनिक शान्ति, अमन–चयन, अपराध नियन्त्रण र अनुसन्धानमार्फत कानुनी शासन स्थापित गर्ने कार्यमा सबै नागरिकको साथ र सहयोग आवश्यक रहेको भन्दै सम्पूर्ण नेपालीलाई हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया