आज संघीय संसदका चार समितिको बैठक बस्दै

hitkhabar.com


काठमाडौं । संघीय संसद अन्तर्गत आज चारवटा समितिको बैठक बस्दैछन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे हुनेछ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको ५३औं बैठक भने बिहान ८ बजे बस्नेछ । यस बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना सम्बन्धी अन्तिम प्रतिवेदनमाथि छलफल गरिनेछ ।

यस्तै, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यक्रम रहेको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे हुनेछ । यस बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति, समस्या र समाधानका प्रयास विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया