काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा तीज पर्व मनाउने क्रममा देखिएको भड्किलोपन र खर्चिलोपनलाई चिन्ताजनक बताएकी छन्।
तीज पर्वको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले विवाहपश्चात् महिलाले जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिन्।
भण्डारीले भनिन्, “विवाहपश्चात् महिलाले जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ। यस पर्वले चेली–माइतीबीचको आत्मीयता, परिवार र साथी–संगीबीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ।”
उनले हरितालिका तीज पर्व हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको स्मरण गर्दै धार्मिक तथा सांस्कृतिक मूल्यहरूको संरक्षणमा सबैलाई जोड दिन आग्रह गरिन्।
त्यस्तै, पछिल्ला वर्षमा तीज पर्वको नाममा भइरहेको अत्यधिक खर्च र भड्किलोपनलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ। “यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरू जोगाउँदै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन सबैले भूमिका खेल्नुपर्छ,” पूर्वराष्ट्रपतिले भनिन्।
उनका अनुसार तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने मञ्चका रूपमा समेत लिन सकिन्छ।