काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताको कार्यान्वयनमा देखिएका नीतिगत समस्या प्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएकी छिन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले संघीयतालाई सुदृढ बनाउन तीनै तह सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरिन् । “प्रशासनिक संघीयतालाई बलियो बनाउनुपर्छ, त्यसका लागि तीन तहबीच सहकार्य जरुरी छ,” उनले भनिन्, “कर्मचारी समायोजनदेखि व्यवस्थापनसम्मका विषयलाई गम्भीरतापूर्वक अध्ययन गर्न आवश्यक छ ।”
उनले पछिल्लो समय संघीयतामाथि उठिरहेका प्रश्न र आलोचनाहरुको सन्दर्भमा नीतिगत तहमा समस्या के छन् भन्ने अनुभूत गर्नुपर्ने बताइन् । मन्त्री न्यौपानेका अनुसार यस्ता प्रश्न किन उठिरहेका छन् भन्ने विषयमा समग्र विश्लेषण जरुरी छ ।
त्यसैगरी, उनले कर्मचारीतन्त्रमा देखिएको पारदर्शिताको अभाव र जनसेवामा भनसुनको संस्कृति अन्त्य गर्नुपर्नेमा जोड दिइन् । सुशासनसम्बन्धी उठेका प्रश्नहरुलाई सम्बोधन गर्न मन्त्रालयस्तरमा विशेष छलफल गरिएको जानकारी दिँदै उनले भनिन्, “सानो कामको लागि समेत सिफारिस गर्नुपर्ने बाध्यता हटाउन जरुरी छ ।”
मन्त्री न्यौपानेले ती सबै विषयलाई सम्बोधन गर्न एक संयन्त्र बनाउने निर्णय गरिएको र त्यसअनुसार निर्देशन दिइसकेको जानकारी समेत दिइन् ।