माओवादी अभियान सिंगो राष्ट्रकै अभियान बनेको छ : प्रचण्ड

hitkhabar.com


लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको दाबी गरेका छन् ।

शनिबार लम्जुङको राइनास नगरपालिका आइपुग्दा प्रचण्डलाई स्थानीयवासीले बाजागाजा र परम्परागत लाखे नाचसहित भव्य स्वागत गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै उनले वर्षाका कारण केही समय अभियान स्थगित भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले नयाँ ऊर्जा थपेको बताए ।

उनका अनुसार यस अभियानले पार्टीभित्र मात्र होइन, जनस्तरमा समेत आशा र उत्साह जगाइरहेको छ । “हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौं,” प्रचण्डले भने ।

विगतका हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानमा सहिद परिवारसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको पीडा सुन्ने अभ्यासलाई निरन्तरता दिइएको उनले उल्लेख गरे ।

प्रचण्डले कांग्रेस र एमालेका स्थानीय जनप्रतिनिधिहरूले समेत अभियानमा स्वागत र सहयोग गरेको उदाहरण प्रस्तुत गर्दै भने, “ठूला नेताप्रति मनपर्ने–नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन् । यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ ।”

प्रतिक्रिया