काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले देशमा मल आपूर्ति चुनौतीपूर्ण रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले चालु आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने लक्ष्य सरकारको रहेको जानकारी गराए । तर, मन्त्रालयको प्रक्षेपण अनुसार देशभर वार्षिक माग करिब १३ लाख टन छ ।
मन्त्री अधिकारीका अनुसार युरिया मलमा ८२ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको छ । “अत्यधिक अनुदानका कारण उपलब्ध बजेटले सम्पूर्ण माग धान्न सकेको छैन,” उनले भने ।
उनले ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्र र किसान सक्रिय हुने ठाउँमा केन्द्रित गरेर प्रदेश सरकारमार्फत वितरणको व्यवस्था गरिएको बताए ।
अधिकारीले यसअघि असार २५ गते पनि संसदमा मल आपूर्ति र वितरणबारे विवरण प्रस्तुत गरेको स्मरण गर्दै सरकार लगातार आपूर्ति सुधारमा प्रतिबद्ध रहेको दोहोर्याए ।