काठमाडौं । नेकपा (माओवादी केन्द्र) अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । साथै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।
शुक्रबार प्रज्ञा भवन, कमलादीमा सम्पन्न केन्द्रीय समिति बैठकले मंसिरमै विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै उपाध्यक्ष अग्नि सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेका अधिकांश प्रस्ताव पारित भएको बताए । उनका अनुसार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित गरिएको छ ।
सापकोटाका अनुसार प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजना गरिने भएको छ । अध्यक्षले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको हो ।
‘जेनजी आन्दोलनलाई संस्थागत गर्दै वर्तमान परिस्थितिमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय भएको छ । यसअन्तर्गत अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था स्थगित गरेर महाधिवेशनमा जेनजी लगायत युवाको अधिकतम सहभागिता सुनिश्चित गरिनेछ,’ सापकोटाले भने ।
बैठकले पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सबै कमिटीमा जेनजी पुस्ताको व्यापक सहभागिता सुनिश्चित गर्ने र युवालाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ ।
यसका साथै बैठकले सूचना–प्रविधि (आईटी) क्षेत्रमा कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने र अन्य आवश्यक प्रस्तावलाई समेत समेटेर कार्यान्वयन गर्ने निष्कर्ष निकालेको छ ।