काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच बिहीवार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । यस क्रममा स्विस सहयोगमा चलिरहेका आयोजना, आगामी सम्भावित सहयोग, लगानी तथा द्विपक्षीय सम्बन्धबारे विस्तृत छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री घिसिङले स्विस सरकारले दिँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै वर्तमान सरकारले चुनाव र आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन कायम गर्ने तथा युवामा आशा जगाउनेलाई प्राथमिकतामा राखेको बताए । उनले विद्युतीय सवारीसाधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युत् प्रयोग, सडक यातायातमा सुरुङ प्रविधिको प्रयोग, हरित हाइड्रोजन ऊर्जा प्रवद्र्धन र साना उद्योगमार्फत रोजगारी सिर्जनाका लागि तालिम आवश्यक रहेको उल्लेख गरे ।
हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग तथा सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालनमा छन् । राजदूत मेउलीले ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।